जापान सरकारको अध्यागमन ब्युरोले सन् २०२४ को जून अन्त्यसम्मको तथ्याङ्क सार्वजनिक गरेको छ, जसअनुसार नेपालीहरू जापानमा छैटौँ ठूलो विदेशी समूहको रूपमा रहेका छन्।कुल २०६,८९८ जना नेपालीहरू जापानमा बसोबास गर्छन्। यो संख्या सन् २०१२ देखि उल्लेखनीय रूपमा बढ्दै आएको छ।
तथ्यांक अनुसार सन् २०१२ देखि २०२४ सम्म नेपालिहरूको जनसङ्ख्या जापानमा निकै बढेको देखिन्छ। सन् २०१२ मा जम्मा २४,०७१ जना नेपालिहरू जापानमा बसोबास गर्थे, तर सन् २०२४को जुन सम्ममा यो संख्या २०६,८९८ पुगेको छ, यो १२ वर्षको अवधिमा लगभग आठ गुणा वृद्धि हो। यो वृद्धि नेपाल बाट भाषा तथा उच्च शिक्षा अध्ययन गर्न जापान आउने नेपालीहरु बढ्नुको कारण एउटा मानिन्छ भने अर्को जापानमा बाल जन्मदर घट्दो र जेष्ठ नागरिकहरु बढ्दो हुनुले श्रम बजारमा विदेशी कामदारहरूको मागसँग पनि जोडिएको छ, विशेषगरी उत्पादन, नर्सिंग केयर, कृषि र सेवा क्षेत्रमा नेपालीहरु कार्यरत छन्।
सन् २०१७ पछि पनि जनसङ्ख्या निरन्तर रूपमा बढ्दै २०१८ मा ८८,९५१ र २०१९ मा ९६,८२४ पुगेको थियो। यद्यपि, सन् २०२० मा जनसङ्ख्या थोरै घटेर ९५,९८२ पुगेको थियो, जुन COVID-19 महामारी र त्यससँगै आएको आवागमन प्रतिबन्धको कारण सबै विदेशीहरु घटेतापनि नेपालीहरु भने तुलनात्मक हिसाबले कम घटेको देखिन्छ। २०२१ मा यो जनसङ्ख्या फेरि बढेर ९७,१०९ पुगेको थियो।
सबैभन्दा ठूलो वृद्धि सन् २०२१ र २०२२ बीच देखिएको थियो, जहाँ जनसङ्ख्या ९७,१०९ बाट १,३९,३९३ पुगेको थियो। यो वृद्धि जापानले आफ्नो सिमा पुनः खोल्दा र कामदार र विद्यार्थीहरूलाई जापान आउन दिएलगत्तै बढेको अनुमान गर्न सकिन्छ।सन् २०२३ मा, नेपालिहरूको जनसङ्ख्या १,७६,३३६ पुगेको थियो, र २०२४ मा यो संख्या २०६,८९८ पुगेको छ, जसले निरन्तर रूपमा वृद्धि भएको देखाउँछ। यसले जापानको अर्थतन्त्रमा नेपालका कामदारहरूको महत्त्वपूर्ण भूमिका मात्र नभएर नेपालका नागरिकहरूले शिक्षा र रोजगारीको लागि जापानलाई रोज्दै गएका संकेत गर्दछ।